थसेस जापानले टोक्योको मन्दिर रेष्टुरेन्टमा आफ्नो चार देवता एवं नरीझेवको पुजाआजा गरी भव्यरूपमा तोरन्ल्ह पर्व मनाएको छ । थकालीहरूको महान चाड तोरन्ल्ह ढिलै भए पनि सम्पन्न भएकोमा उपस्थित थकालीहरूमा प्रसन्नता छाएको थियो । कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङका साथै अतिथि एनआरएन जापानका अध्यक्ष भवन भट्टले थकालीहरूको महान चाडमा थकालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्य संघ संस्थाका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
कार्यक्रमको पहिलो चरणमा थसेस जापानको साधारण सभाका साथै निवर्तमान कार्य समितिले नयाँ कार्यसमितिलाई कार्यभार हस्तारण गरेको थियो । दोस्रो चरणमा प्रमुख अतिथिवाट थकाली एवं थसेसको लागि योगदान गर्ने व्यक्तित्वहरू एवं शुभकामना साँझमा कला प्रस्तुत गर्ने कलाकारहरूलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रमाण पत्र पाउनेहरूमा थसेस जापानका संरक्षक डा. योगेन तुलाचन, आदिवासी जनजातिका अध्यक्ष एवं थसेसका पूर्व अध्यक्ष ध्रुव भट्टचन, शरद शेरचन, लेलिन भट्टचन, सन्तोषी गौचन, दिपक गौचन, रेणु तुलाचन, सबिता शेरचन हुनुहुन्थ्यो ।
कार्यक्रममा थसेस जापानका नयाँ पदाधिकारीहरूलाई अध्यक्ष शरद कुमार गौचनले गोपनियताको सपथ ग्रहण गराउनुका साथै प्रमुख अतिथि राजदूत डा. तामाङले सवै सदस्यहरूलाई खादा लगाई बधाई दिनुभएको थियो । कार्यक्रमका सभापति एवं थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले उपस्थित सबैलाई शुभकामनाका साथै धन्यवाद दिदै दोस्रो चरणको कार्यक्रम समाप्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महा सचिव अनिल भट्टचनले गर्नुभएको थियो ।
अन्तमा आफ्नो परम्परागत थकाली नाच एवं नेपाली गीत संगीतमा भएको सानो साँस्कृतिक कार्यक्रमका साथै रात्रीभोज सम्पन्न भएको थियो । अन्तमा डिजे राजु शेरचनको म्युजिक धमाकाले नाच्नका लागि सवैलाई डान्स फ्लोरमा उतार्न सफल भएको थियो ।



Leave a Reply