डा. माधवप्रसाद पोखरेल
मुस्ताङ जिल्लाको कुन्जो गाविसको ताउलुङ भन्ने गाउँमा जन्मेका झन्डै सत्तरी वर्षका कुलबहादुर गौचनले दिएको सूचनाअनुसार थकाली भाषा मुस्ताङ जिल्लाका टुकुचे, कोवाङ, देवीथान, लार्जुङ, नाउरीकोट, भुर्चुङकोट, न्हाकुङ, धम्फु, टिटी, ताउलुङ, कुन्जो, लेते, घाँस गाउँमा मूलत बोलिन्छ । आज सबै थकालीहरु नेपाली भाषा बोल्न सक्छन् । आधाभन्दा बढ्ता थकालीहरुलाई थकाली भाषा बोल्न आउदैन । धरैजसो थकालीहरु नेपाली भाषामै आफ्नो काम चलाउँछन् । त्यस्तै आफ्ना छोराछोरीहरुलाई थकाली भाषा सिकाउने कुरामा थकालीहरु अल्छी गर्न थालेका छन् भन्ने सूचना पाइएको छ ।
चिनियाँ नक्साअनुसार ब्रह्मपुत्र नदीको एउटा भागलाई तामाङह (तामाङ गाड) भनिन्छ । नेपालका तामाङ, गुरुङ्ग, थकाली, मनाङे, काइके, छन्त्यालहरुको साइनो उक्त नदीसित भए जस्तो लाग्छ किनभने उनीहरुको भाषाबीचमा शव्द भण्डार र व्याकरणमा समानता छ । तिनीहरुले आफुलाई चिनाउने प्रयोग गर्ने नाममा त-म-(ङ) पाइन्छ । यी सबै भाषा भोटेबर्मेली भाषा परिवारको बोडिस उपवर्गमा पर्दछन् । यी छवटा भाषाहरुलाई भाषा वैज्ञानिकहरुले तामाङिक समुहका भाषा भन्ने नाम दिएका छन् ।
उच्चारणमा यी भाषाहरु (छन्त्यालबाहेक) मूलत: तानल छन् । यसको अर्थ के हो भने नेपाली भाषा बोल्नेहरुलाई उस्तै-उस्तै लाग्ने शव्दहरुको उच्चारण र अर्थमा फरक परेको यी भाषा बोल्नेहरु चाल पाउँछन् । यी भाषाको तानसित नासिक्य (ङनम), तरल(रल) र सर्पिल(यव) व्यञ्जन मात्र होइन, स्वरहरुमा पनि अल्पप्राण र महाप्राणको व्यतिरेक गाँसिएको हुन्छ । यी सबै ध्वनिहरुलाई ध्वनिविज्ञानमा नाद ध्वनि भन्ने चलन छ ।
सबै भोटेबर्मेली भाषाहरु प्रत्यक्ष वा परोक्षरुपमा तिब्बतसित ऐतिहासिक साइनो राख्छन् । भोटेबर्मेली भाषा बोल्नेहरुको मूल थलो चीनका ह्वाङ ह नदीको (पहेंलो नदी) र छाङ च्याङ(लामो नदी अर्थात याङसी नदी) को शिर हो भन्ने कुरो ग्रियर्सनले लेखेका छन् । ह्वाङ ह नदीको गडतिरै गडतिर उत्तर-पूर्व लाग्नेहरुले चिनियाँ सभ्यता मनाए । याङ्सी नदीको गडतिर नछोडनेहरुमा भोटेबर्मेली भाषा बोल्ने पूर्वी हाँगो पर्छ । त्यसै हाँगाका केही वक्ताहरु चीनको युनान र स्छ्वानबाट म्यान्मार हुदै भारतमा आसामको ब्रह्मपुत्र व्यासी हुँदै नेपाल आइपुगेको अड्कल गर्न सकिन्छ । जुन हाँगोले चीनको आनग्य कोणको फेरो मार्यो, भोटेबर्मेली परीवारको त्यस हाँगामा आनग्य भाषाका बहोरा पनि मिसिएको पाइन्छ । क्रियाको रुपावली जटिल हुनु भोटेबर्मेली भाषाको यस हाँगाको बेहोरा हो । मोटामोटीरुपमा यस बेहोरालाई नेपालमा किराँती बेहोरा भन्न सकिन्छ । यस दृष्टीले हेर्ने हो भने, सबभन्दा पश्चिममा पुगेका किराँतहरुमा खाम, मगर, राउटे र व्याँसी पर्दछन् भने पूर्वतिरका राई लिम्वुहरुलाई अझै किराँती नै भन्ने चलन छ । तिव्वतीलगायत थकालीजस्ता बोडिस भाषाहरु सबैमा क्रिया जटिल हुँदैन ।
काइके र छन्त्याललाई नेपाली परम्पराले मगर जाति नै मान्दछ तर उनीहरुको भाषा भने तामाङिक समूहमा परेको देखिन्छ । त्यस्तै थकाली परम्पराले थकालीहरुलाई जुम्लाका खस घरानामा हंस राजाका सन्तान मान्दछ तर उनीहरुको भाषा चाहिँ तामाङिक समूहमै पर्छ । वास्तवमा जाति र भाषामा यस्ता प्रकारका समस्याहरु संसारभरमै पाइन्छन् । थकाली जाति र भाषा पनि समस्याको त्यस्तै सङ्घारमा परेको देखिन्छ । स्वीजरल्याण्डकी भाषावैज्ञानिक अन्ना मारीया हरीले थकाली भाषाको वर्ण (र तान) को अध्ययन गरेकी छिन् । अहिले थकाली समाजले ई. तेजप्रसाद गौचनको संयोजन र सम्पादनमा थकाली भाषाको शव्दकोश बनाइरहेको छ । मार्फा थकालीमा चाहिँ पिएचडी तहको अनुसन्धान भइसकेको सूचना पाइसकेको छ, तर थाकखोलाको थकाली भाषा र मार्फाली थकाली भाषामा के कस्तो ऐतिहासिक र भौगलिक साइनो छ, खुट्याउन बाँकी छ ।
नेपालका सबै भाषामा क्रिया वाक्यको अन्तमा पर्ने हुनाले थकाली भाषा पनि क्रियान्त भाषा हो । नेपालका धेरैजसो भाषाहरुको नामिक पदावलीमा विशेषण देब्रेतिर पर्छ, तर तामाङिक भाषामा प्रायः नामको दाहिनेतिर विशेषण लाग्छ । बोडिस भाषाहरुमा अज्ञात भूत अनिवार्यरुपमा हुन्छ । त्यसैअनुसार तामाङिक परिवारका सबै भाषामा अज्ञात भूत पाइन्छ ।
मारिया हरीले ह्योल्मो (हेलम्वु शेर्पा) भाषाको शव्दकोश भर्खरै प्रकाशित गरेकी छिन् । त्यस्तै एस्टर स्ट्राम र अनिता माइबाम भन्ने दुइटी स्वीस र जर्मन भाषा वैज्ञानिकले पनि जिरेल भाषाको शव्दकोश भर्खरै सार्वजनिक गरेका छन् । लिम्वु भाषाको शव्दकोश नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले तीन वर्षअगाडी प्रकाशित गरिसकेको छ । यी सबै त्रैभाषिक शब्दकोष हुन् । यस्ता त्रैभाषिक शब्दकोश नेवारीजस्ता अरु नेपालका भाषामा पनि केही मात्रामा प्रकाशित भएका छन् । तिनीहरुलाई गुरु थापेर थकालीहरुले पनि आफ्ना शब्दकोशको गन्तव्य निर्धारण गर्नुपर्छ । शब्दकोश पुरा हुने बेलामा व्याकरण नलेखी हुदैन । हालसालै नीला तुलाचनले थकाली भाषाको एउटा व्यकरण प्रकाशित गर्ने योजना बनाएकी छिन् । शब्दकोश बनाउँदा बनाउँदै टुलबक्स भन्ने सफ्टवेयरको सहायताले थकाली भाषाको व्याकरण सजिलै बन्न सक्ने मैले विश्वास गरेको छु । मेरो शुभकामना छ !



Leave a Reply