हरेक महिना प्रदान गरिने ‘अल्वा रत्न’ सम्मानबाट यसपटक भैरहवाका सरयुप्रसाद शेरचन सम्मानित भएका छन् । समाजमा निःस्वार्थ सेवा गर्ने एकजना समाजसेवी छनोट गरेर उक्त सम्मान दिने गरिन्छ ।
लाटाबहिरा भनेर हेपिएका र अवसरबाट विमुखलाई शिक्षा प्रदान दिएर स्वावलम्बी गराउन ३ दशकदेखि सक्रिय शेरचनलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
कान्तिपुर पब्लिकेसन्सको नेपाल राष्ट्रिय साप्ताहिक र यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता मोरङ अटोवक्र्सको सहकार्यमा एकजना उत्कृष्ट समाजसेवीलाई प्रत्येक महिना उक्त सम्मान गरिँदै आएको छ ।
सांकेतिक भाषाको माध्यमबाट अभिव्यक्त गर्ने बहिरा ६० वर्षीय शेरचनले भैरहवामा बहिरा बाल विद्यालय सञ्चालन गरेर नेपालमै पहिलो सांकेतिक भाषाबाट अध्ययन गराउने पद्धतिको सुरुवात गरेका थिए । सिन्धुपाल्चोक, गोरखा, हेटौंडा, धरान, विराटनगर, पोखरा, जनकपुरलगायत १४ ठाउँमा बहिरा बाल विद्यालय स्थापना र सञ्चालन गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।
उनले सन् २००५ मा भारतको लखनउमा सम्पन्न दोस्रो विश्व बहिरा क्रिकेट प्रतियोगिता र २००७ मा मुम्बईमा भएको प्रथम एसियन क्रिकेट प्रतियोगितामा नेपालको सहभागी गराएका थिए । अहिले उनी २०१० डिसेम्बरमा न्युजिल्यान्डमा हुने तेस्रो विश्व बहिरा क्रिकेट प्रतियोगिताका निम्ति नेपाली टिम तयार पार्न जुटेका छन् ।
शेरचनलाई नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल र मोरङ अटोवक्र्सका डीजीएम सुरज मानन्धरले संयुक्त रूपमा ५० हजार रुपैयाँको चेक र रुपन्देहीका जिल्ला न्यायाधीश प्रेमराज ढकालले अल्वा रत्न ट्रफी प्रदान गरेका थिए ।
उक्त सम्मानका निम्ति सिफारिस गर्नेलाई पनि ५ हजार रुपैयाँ प्रदान गरिएको छ । शेरचनका लागि झापाका नवराज भट्टराईले सिफारिस गरेका थिए ।
स्रोतः कान्तिपुर दैनिक



Leave a Reply